आइसिसी टी–२० विश्वकप छनोट : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं,२१ असोज । मलेसीयमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अहिले थाइल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बायुमास ओभलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

यसअघि नेपालले सुरुवाती २ खेलमा जित हात पारेको थियो। नेपालले शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा पनि सजिलो जित हात पार्ने पर्ने क्रममा म्यानमारलाई ८ विकेटले हराएको थियो।

प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।