दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही हुने

काठमाडौं, २१ असोज ।  दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ। बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि आइतबारदेखि मात्र वितरण सुरु गर्दैछन् ।
नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘
आइतबारदेखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई, दुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।