सूर्यकिरण फाइबरको म्यानहोल कभर बजारमा

चितवन, २० असोज । भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको सूर्यकिरण फाइबर उद्योगले एमएमसी म्यानहोल कभर बजारमा ल्याएको छ ।
एक दशक अगाडि स्थापना गरिएको उद्योगले फाइबरका झ्याल, ढोका, चौकस, अर्ध पारदर्शी फाइबर जस्तापाता, वाथटब आदी उत्पादन गर्दै आएको थियो । बैदेशिक रोजगारमा रहेर सिकेको सीपलाई आफ्नै मुलुकमा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको उद्योगले केही समय अगाडि मात्रै कम्पोजित म्यानहोल कभर घरदेखि राजमार्गसम्म आवश्यक पर्ने च्याम्बरको ढकनी बजारमा ल्याएको हो । ग्लास फाइबरको प्रयोग गरि एसएमसीबाट म्यानहल कभर गर्ने प्रविधि दक्षिण एशियामा नै नयाँ भएको कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद न्यौपानेले बताए ।
अत्याधिक भारबहन क्षमताको म्यानहोल कभर तीन हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा उपलब्ध गराइने न्यौपानेको भनाइ थियो । विभिन्न किसिमका रसायनहरु, लवण तथा मौसमी प्रतिकुलताबाट पनि यस्ता म्यानहोल कभर तुलनात्मक रुपमा सुरक्षित हुने भएकाले पछिल्लो समय विकसित देशहरुमा समेत यसको माग बढ्दै गएको न्यौपानेले बताए । फाइबर ग्लासबाट बनेको म्यानहोल कभरहरु तौल तथा अन्य किसिमका म्यानहोल कभरभन्दा हलुङ्गो र भारबहन क्षमता समेत बढी हुने कारणले जडानको क्रममा दुर्घटना हुने सम्भावना समेत कम हुने न्यौपानेले बताए ।