कृषि मन्त्री लामा भन्छन् : चक्लाबन्दी खेती प्रणाली अपनाउनुस् !

चितवन, २० असोज । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चाक्ला बन्दी प्रणालीमा खेती गर्नुपर्ने बताएका छन् ।
मन्त्री लामाले एकल तरिकाले भन्दा सामूहिक रुपमा खेती प्रणाली गर्दै अगाडि बढ्ने हो भने त्यसले व्यवसायिकता प्रदान गर्ने बताएका हुन् । शनिबार चितवनको भरतपुरमा आयोजित भरतपुर बचत तथा ऋण सहकारी संस्थाको २१औँ साधारणसभाका क्रममा मन्त्री लामाले परम्परागत खेती प्रणालीबाट किसान निराश भएकाले अब नयाँ प्रणालीमा खेती किसानी गर्नुपर्ने बताए । चितवनको केही ठाउँमा सामुहिक खेती प्रणालीको सुरुआत भइसकेकोले चितवन उदाहरण बन्न लागेको लामाको भनाइ थियो ।
सहकारीले निर्माण कार्यमा लगानी गर्ने बाटो खुलेको उल्लेख गर्दै कृषि मन्त्री लामाले हिजो सहकारीको बचत खातामा रहेको पैसा निर्माण कार्यमा लगाउन नमिलेको अवस्थामा अब त्यो दिनको अन्त्य हुन लागेको बताए । सहकारी ऐन मन्त्री परिषद्मा रहेकोले अब त्यो एक दुई दिनभित्र सदनमा आएर पारित भएपछि सहकारीको लगानीको क्षेत्र व्यापक हुने लामाले बताए ।