फोनिज चितवनको सातौँ साधारणसभा : पत्रकारको क्षमता अभिवृद्धिमा जोड

चितवन, १९ असोज । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार चितवनको भरतपुरमा आयोजना गरिएको साधारणसभाका क्रममा वक्ताहरुले पत्रकारको क्षमता अभिवृद्धिको कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारहरुको लेखन शैली राम्रो हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि स्वयम् पत्रकारले नै मिहेनत गर्नुपर्ने बताए । पत्रकारहरुले समाचार लेख्दा सत्यमा आधारित भएर लेख्नुपर्ने उल्लेख गर्दै खतिवडाले सुनेको भरमा समाचार लेख्न नहुने बताए ।
कार्यक्रममा प्रेस चौतारी चितवनका उपाध्यक्ष सुवास पण्डितले पत्रकारिता पेसालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । मन्तव्यका क्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष, नारायण प्रसाद अधिकारी, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कंडेलले पत्रकारहरुले आफ्नो जातिय पहिचान स्थापित गराउन सक्नुपर्ने बताए । आदिवासी जनजातिहरुले आफ्नो कला, संस्कृतिको बारेमा कलमको माध्यमबाट आम मानिसलाई जानकारी गराउँदै कला र संस्कृतिको संरक्षणमा जुट्नुपर्ने समेत उनीहरुको भनाइ थियो ।
साधारणसभाका क्रममा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका अतिरिक्त निर्देशक मनोहर प्रधान, फोनिज केन्द्रीय सदस्य राजु चौधरी, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर थापा, आदीबासी जनजाति महासंघ जापानका महासचिव रमेश राना, फोनिज चितवनका सल्लाहकार ईश्वरकुमार जोशीलगायतले मन्तव्य राखेका थिए । फोनिज चितवनका अध्यक्ष सन्दिपकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सविता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।