खैरहनीको सेवा प्रभावकारी वनाउन निर्देशन

चितवन, असोज १९ । खैरहनी नगरपालिकाले एआई (कृत्रिम गर्भाधान) इन्सिमेनेटर प्राविधिकहरुलाई सेवा प्रभावकारी वनाउन निर्देशन दिएको छ ।
खैरहनी नगरपालिका पशु सेवा शाखाले शुक्रवार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख लालमणी चौधरीले कृत्रिम गर्भाधान प्रभावकारी वनाउन निर्देशन दिएका हुन् ।
सानातिना लापरवाहीले गर्दा किसान पीडित हुन्छन् नगर प्रमुख चौधरीले भने – पशुपालन गरेरै घर खर्च टार्ने भएकाले किसानले पाउने सेवा,सुविधा,सरल प्रभावकारी वनाउनुपर्छ । नगरपालिकाले प्रदान गर्ने सहयोग नगर भित्रकै किसानले मात्रै पाउने गरी काम गर्न नगर प्रमुख चौधरीले आग्रह गरे ।
असल जातको नश्ल सुधार गरे किसानको आयआर्जन हुने भएकाले पनि प्रभावकारी काम गर्न उनले सुझाव दिए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले नाईट्रोजन,रेफ्री ,सिमेन लगायतका सामान नगरपालिकाले उपलव्ध गराउने उल्लेख गर्दै किसानहरुले सहज रुपमा प्राप्त गर्ने वातावरण वनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा ए आई इन्सिमेनेटर प्राविधिकहरुले पर्याप्त सिमेनको व्यवस्था गर्नु पर्ने,एआई तालिमको व्यवस्था गर्नु पर्ने ,अस्वस्थ प्रतिस्पर्धालाई रोक्नु पर्ने लगायत माग राखेको पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नगर भित्र रहेका १२ जना एआई इन्सिमेनेटर प्राविधिकहरुको सहभागीता रहेको थियो ।