नीति राईको सवारी कर संकलन गर्ने ढाटमा आगजनी  

प्रकाश सिग्देल

चितवन,  १६  असोज।गैँडाकोटको जयश्रीमा रहेको सडक कर उठाउने ढाटमा स्थानीयले आगजनी गरेका छन् । यसअघि स्थानीयलाई सवारी करमा छुट दिँदै आएको ढाटमा एकाएक कर उठाउन थालेपछि स्थानीयले आगजनी गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

मंगलबार दिउँसो १५\२० जनाको समूहमा आएका युवाहरुको समूहले त्यहाँ तोडफोड गरी आगजनी गरेका हुन् । एक लाख ७५ हजार रुपैयाँ लगेर आगो लगाएर भागेको ठेकेदार नीति राईको आरोप छ । असोज १४ गते निती राईको सुनकोसी कन्ट्रक्सनले कर बाहेक ८ करोडमा ठेक्का पाएको थियो । तोडफोडबाट कार्यालयको सीसी क्यामरा, दराज, कम्प्युटर कुर्चीहरु, झयाल ढोका र नगदी रसीद पूर्णरुपमा क्षति भएको र त्यसबाट पाँच लाख बराबरको नोक्सान भएको राईले दाबी गरे ।