चितवनमा जिल्लास्तरीय एथेलेटिक्स प्रतियोगिता हुने

चितवन, १५ असोज । चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा जिल्ला स्तरीय एथलेटिक्स प्रतियोगिता हुने भएको छ ।
आगामी असोज २१ गते भरतपुरमा जिल्ला स्तरीय एथलेटिक्स प्रतियोगिता हुन लागेको सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । एथलेटिक्स विधाको दौड तर्फ पुरुष पाँच किलोमिटर, महिला तीन किलोमिटर, महिला पुरुष दुवैको लङजम्प, एक सय मिटर दौड र सटपुट प्रतियोगिता गरिने चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहादुर रजाली मगरले बताए ।
मगरका अनुसार महिला तथा पुरुषको दौड २१ गते बिहान सात बजे आँपटारीदेखि केन्द्रीय बसपार्कसम्म हुनेछ भने अन्य लङजम्प, एक सय मिटर दौड र सटपुट विधाको महिला पुरुषको दुवै खेल जिल्ला प्रहरी कार्यालय चितवनको अगाडि रहेको गेष्ट हाउस चौरमा हुनेछ । महिला तथा पुरुषको तर्फको दौडमा पहिलो हुनेले १० हजार दोस्रो हुनेले सात हजार तथा तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, लङजम्प, एक मिटर दौड र सटपुट विधाका विजेता खेलाडीलाई समान पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुनेले पाँच हजार दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले दुई हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
जिल्लामा आयोजना गरिएको एथलेटिक्समा उत्कृष्ट हुने सहभागीहरुलाई राष्ट्रिय खेलमा सहभागी गराइने उल्लेख गर्दै अध्यक्ष मगरले यसमा विभागीय र जिल्ला बाहिरका खेलाडीहरुले सहभागिता जनाउन नपाउने बताए ।