तेकवान्दोको राष्ट्रिय रेफ्री तालिम सकियो

चितवन, १४ असोज । चितवनको भरतपुरमा आयोजना गरिएको तीन दिने पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सकिएको छ ।
चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको राष्ट्रिय रेफ्री तालिममा ७० जना सहभागी थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेकवान्दो खेल सम्बन्धी परिवर्तन भएका नीति नियमबारे जानकारी गराउनका लागि चितवनमा रेफ्री तालिमको आयोजना गरिएको राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
आइतबार प्रदेश ३ का प्रदेशसभा सदस्य एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल तथा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । तीन दिनसम्म चितवनमा बसेर सिकेका नयाँ कुराहरुलाई खेल खेलाउने बेलामा व्यवहारमा उतार्दै आफ्नो उत्कृष्टता प्रदान गर्न दाहालले आग्रह गरे ।
विगतमा खेलकुदको क्षेत्रमा खासै लगानी नभएको भएपनि आगामी दिनमा भने प्रदेश सरकारले खेलकुदको क्षेत्रको विकास गर्नका लागि नीति तथा योजना बनाउने दाहालको भनाइ थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले खेलकुदले अनुशासित हुन सिकाउने भएकाले आफ्नो अनुशासन प्रदर्शन गर्दै खेल्न र खेलाउन आग्रह गरे ।
खेलकुदको माध्यमबाट आफ्नो र देशको नाम संसारसामु चिनाउन सकिने भएकाले खेलकुदमा भविष्य उज्ज्वल बन्दै गएको लामाको भनाइ छ । शुक्रबारदेखि भरतपुरको कबर्ड हलमा सुरु भएको तालिममा राष्ट्रिय तेकवान्दो संघ नेपालका उपाध्यक्ष हरि बुढाथोकी र सचिव राकेशकुमार राईले प्रशिक्षण दिएका थिए । पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजना तथा राष्ट्रिय तेकवान्दो संघ चितवनको संयोजनमा आयोजना गरिएको थियो ।