अमेरिकी नागरिकलाई तेक्वान्दो सिकाउने नेपाली गुरु रामशरण चौधरी

कारी महतो
चितवन, १४ असोज । चितवनका तेक्वान्दो खेलाडी रामशरण चौधरी केहि वर्षदेखि अमेरिकामा रहँदै आएका छन् । अमेरिकामा रहेर उनले खेलप्रेमीहरुलाई तेक्वान्दो प्रशिक्षण दिईरहेका छन् । अन्य देशबाट गएकाहरुलाई मात्र नभई उनले अमेरिकी नागरिकहरुलाई पनि तेक्वान्दो प्रशिक्षण दिदै आएका छन् ।
अहिले उनले आफ्नै लगानीमा ओलम्पिक स्टार तेक्वान्दो डोजाङ्ग स्थापना गरी तेक्वान्दो प्रशिक्षण दिई रहेका छन् ।

केहि समय अगाडि एक अमेरिकी नागरिकसँग मिलेर तेक्वान्दो स्कुल स्थापना गरेका थिए । तर उक्त व्यक्तसँग विचारशैली नमिलेर आफैले छुट्टै एकल लगानीमा तेक्वान्दो स्कुल खोलेर सञ्चालनमा ल्याएका छन् ।


तेक्वान्दो प्रशिक्षण गर्ने तरिका निकै मन पराएका अमेरिकी प्रशिक्षार्थीहरुले उनलाई थप पैसा दिन चाहेको कुरा उनले सामाजिक सञ्जाल मार्फत अभिव्यक्त गरेका छन् । तर उनले कसैसँग थप पैसा लिन नचाहेको बताउँछन् । त्यस स्कुलमा तेक्वान्दो सिक्न आउने नेपालीमूलका खेलाडीहरुका लागि ५० प्रतिशत शुल्क छुट दिने गरेका छन् ।


नेपालमा रहँदा उनले खैरहनी नगरपालिका वडा नं. १ मा न्यू स्टार तेक्वान्दो डोजाङ्ग स्थापना गरी सञ्चालनमा ल्याएका थिए । उनले स्थापना गरेको तेक्वान्दो डोजाङ्गमा अहिले धनबहादुर दराईले प्रशिक्षण दिइरहेका छन् । आफूले जन्माएको तेक्वान्दो डोजाङ्गलाई रामशरणले नेपाल आएका समयमा विभिन्न सामग्रीहरु लगायत सहयोग पनि गर्ने गरेका छन् ।


नेपालमा रहँदा रामशरण चौधरीले नेपालको तर्फबाट विदेशमा सम्पन्न भएका विभिन्न तेक्वान्दो प्रतियोगिताहरुबाट नेपाललाई पदक दिलाएका थिए । नेपाल सरकारले चाहेमा अहिले नेपालको तर्फबाट ओलम्पिक खेलमा तेक्वान्दो खेल्न चाहेका उनले बताए ।