महानगरको निर्णय विरुद्ध यातायात मजदुर आन्दोलित

चितवन, १२ असोज । भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा यहाँ सञ्चालित अटो रिक्साका चालकहरु पुनः आन्दोलित भएका छन् ।
भरतपुरमा सञ्चालित तीन पांग्रे सवारी साधनलाई नगरको मुख्य सडकमा गुड्न नदिने गरी महानगरपालिकाले गरेको निर्णयको विरोध गर्दै यातायात मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् । एक महिना अगाडि महानगरपालिकाले बोर्ड बैठकबाट निर्णय गरेर तीन पांग्रे सवारी साधनलाई महानगर भित्र पर्ने पूर्व पश्चिम राजमार्ग, नारायणगढ मुग्लिङ सक खण्ड तथा बाइपास सडकमा गुड्न नदिने निर्णय गरेको थियो । यसको बिरोध गर्दै तीन पांग्रे सवारी चालकहरुले आन्दोलन गर्दा बल प्रयोग गरेर आन्दोलनलाई दमन गरिएको थियो ।

आन्दोलनका क्रममा यातायात मजदुरलाई गोली लागेपछि पछाडि हटेका यातायात मजदुरहरु पुनः आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार आफ्ना तीन पांग्रे सवारी साधनलाई भरतपुरको गेष्ट हाउस चौरमा पार्किङ गर्दै यातायात मजदुरहरुले टाउको तथा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । महानगरपालिकाको निर्णय खारेजी, तीन पांग्रे माथीको दमन अन्त्य, ट्राफिक ज्यादती बन्द गर्न, गोली लागि घाइते भएका व्यक्तिलाई क्षतिपूर्ति माग गर्दै यातायात मजदुरहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।
नाराबाजी सहित भरतपुरको गेष्ट हाउस चौरबाट सुरु भएको प्रदर्शन चौबिसकोठी, महानगरपालिका कार्यालय, लायन्सचोक, पुलचोक पुगेको थियो । यातायात मजदुरहरुले आफ्ना मागहरु पूरा गराउनका लागि दबाव दिने उद्देश्यले विभिन्न चरणवद्ध आन्दोलन समेत घोषणा गरेका छन् ।