तेकवान्दोको राष्ट्रिय रेफ्री तालिम चितवनमा, खेल क्षेत्रमा लगानी नहुँदा खेलाडी पलायन : सासंद अविनाश (भिडियो)

चितवन, १२ असोज । राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजनामा चितवनमा पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सुरु गरिएको छ ।
चितवन, नवलपरासी, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको राष्ट्रिय रेफ्री तालिममा ७० जना सहभागी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेकवान्दो खेल सम्बन्धी परिवर्तन भएका नीति नियमबारे जानकारी गराउनका लागि चितवनमा रेफ्री तालिमको आयोजना गरिएको हो ।

 

 

 


तालिमको उद्घाटन गर्दै प्रदेश ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले राज्यले खेलकुदको क्षेत्रमा आवश्यक लगानी नगर्दा खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन नसकेका बताउनुभयो ।
असोज १४ गतेसम्म भरतपुरको कबर्ड हलमा हुने रेफ्री तालिममा राष्ट्रिय तेकवान्दो संघ नेपालका उपाध्यक्ष हरि बुढाथोकी र सचिव राकेशकुमार राईले प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षणमा सहभागी भएका रेफ्रीहरुले मात्रै तेकवान्दोको स्थानीय, जिल्ला स्तरीय, प्रदेश तथा राष्ट्रिय प्रतियोगिता खेलाउन पाउने राष्ट्रिय तेकवान्दो संघ नेपाल चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमको उद्घाटनका क्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले तेकवान्दोको खेल तथा प्रशिक्षण हुँदै आएको भरतपुरको कबर्ड हल संरक्षण हुन नसक्नु, गेष्ट हाउस चौरमा सिटी हल निर्माण गर्न खोज्नु कारणले समेत खेलकुद क्षेत्रमा समस्या आउने बताए । गेष्ट हाउस चौर पुरानो खेल मैदानको रुपमा रहेकोले यसको संरक्षण गर्दै महानगरपालिकाले अन्यत्र नै सिटी हलको लागि जग्गा खोज्न लामाले आग्रह गरे ।