यौनजन्य हिंसा विरुद्ध प्रदर्शन

चितवन, १२ असोज । चितवनमा महिला तथा बालबालिकाहरुको क्षेत्रमा क्रियाशील संघसंस्था तथा नर्सिङ विद्यार्थीहरुले निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
निर्मला पन्तको हत्यारालाई कारबाहीको माग तथा यौनजन्य हिंसा अन्त्यका लागि भन्दै चितवनको भरतपुरमा प्रदर्शन गरिएको हो । भरतपुरको चौबिसकोठीबाट सुरु भएको ¥यालीमा नर्सिङ विद्यार्थी, महिला अधिकारकर्मी, विभिन्न आमा समूह तथा संघसंगठनका प्रतिनिधिहरु सहभागी थिए । ¥यालीमा सहभागीहरुले अस्पताल रोड, मालपोत चोक, बाइपास रोड हुँदै जिल्ला प्रशासन कार्यालय चितवन पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर बुझाएका छन् ।
महिला हिंसा अन्त्य तथा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फंत सरकारलाई बुझाइएको हो । हस्ताक्षर बुझ्दै बस्नेतले समाजमा महिला हिंसाका घटनाहरु बढ्दै गएकोले कडा सुरक्षा सतर्कता अपनाइएको बताए । यौनजन्य हिंसामा दोषि भेटिएका कसैलाई पनि उन्मुक्ति नदिइने बस्नेतको भनाइ थियो ।