गृहमन्त्री बादलको दाबी : महिला हिंसा गर्ने ९० प्रतिशत दोषीलाई कारवाही, निर्मला हत्याबारे यसो भने

काठमाडौं,११ असोज । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारवाही गरिएको दाबी गरेका छन्। गृहमन्त्री बादलले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको दाबी गरे।

बिहिबार महिला हिंसा न्यूनिकरण सम्बन्धी सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याए ।

गृहमन्त्री बादलले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए । उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानविनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई स्मरण गराए । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे ।