पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित

नवलपरासी, ११ असोज । पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् ।

किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका छन् । उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ । वाग्मती चिनी मिलले रु २६ करोड, इन्दिरा सुगर मिलले रु १७ करोड तथा लुम्बिनी चिनी मिलले रु दुई करोड भुक्तानी दिन बाँकी रहेको समितिका सचिव बन्धुप्रसाद बरइले जानकारी दिनुभयो ।

“उखु क्रसिङ गरेको ६ महीना बित्दा पनि किसानसँग उधारोमा किनेको उखुको भुक्तानी रकम उद्योगले दिएका छैनन्,” किसानले प्रतिक्विन्टल रु ५३६ का दरले भुक्तानी पाउन बाँकी छ । जिल्लामा कूल सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने गरिन्छ । पश्चिम नवलपरासीमा करीब १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको समितिले जनाएको छ । रासस