‘सबैका लागि पर्यटन ,पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित आज विश्व पर्यटन दिवस मनाईदैँ

चितवन, ११ असोज । आज विश्व पर्यटन दिवस मनाईदैँ छ । हरेक बर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा पनि ‘सबैका लागि पर्यटन , पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित आज विश्व पर्यटन दिवस मनाउँदै छ ।

भौगोलिक हिसाबले नेपाल विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ । यहाँका हिमशृंखला, मनोरम हरियाली वातावरण, जैविक अनि सांस्कृतिक विविधता हाम्रा पर्यटकीय सम्पत्ति हुन् । हिमाल आरोहणका लागि मात्रै बर्सेनि नेपालमा हजारौं पर्यटक आउँछन् तर यथोचित प्रचारप्रसार हुने हो भने यो संख्या लाखौंमा परिणत हुनसक्छ । नेपालमा पदयात्रा र धार्मिक पर्यटनको पनि सम्भावना उत्तिकै छ ।

पर्यटन संसारकै ठूलो उद्योग हो । तर, त्यो उद्योग सञ्चालमा नेपाल चुकिरहेको छ । सरकारले सन् २०२० लार्इ नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष मनाउने घोषणा गरेको हो । सन् २०२० मा जिडिपीमा पर्यटन क्षेत्रको योगदान हालको २ प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याउने लक्ष्य सरकारले लिएको छ ।

यसैबीच चितवनका सौराहा व्यवसायीहरुले सात ठाउँ पहिचान गरि यो दिवस मनाउदैछन् । भने चितवन पर्यटन विकास समिति र भरतपुर महानगरपालिकाले पनि फरक खालको कार्यक्रम गदैछन् ।