पहिरोका कारण सडक अवरुद्ध

बैतडी, ९ असोज । पहिरोका कारण गएरातिदेखि बैतडीका पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । लगातारको वर्षाले पाटन नगरपालिकाको घाङल खोलामा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले पहिरो पन्छाउन स्काभेटरको लागि डिभिजन सडक कार्यालयसँग कुरा भएको जानकारी दिनुभयो । तल्लोस्वराड जोड्ने मुख्य सडक नै अवरुद्ध भएपछि त्यस क्षेत्रमा आवतजावत गर्न लागेका यात्रु अलपत्र परेका छन् ।

यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसालीमा पहिरो जाँदा गएरातिदेखि नै अवरुद्ध बनेको महाकाली राजमार्ग बिहान ७ बजेपछि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस