ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठानद्वारा डाक्टर पाण्डे र समाजसेवी छाया सम्मानित

नवलपुर, ८ असोज । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले आफ्ना पुर्खाहरुलाई सम्मान गर्ने परम्परा हराउँदै गएको बताएका छन् ।
समाजमा नैतिक शिक्षाको अभाव हुँदै जाँदा अग्रजहरुको सम्मानमा कमी आएको पौडेलको भनाइ छ । २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजना गरिएको ८७ वर्षीय ज्येष्ठ नागरिक स्वास्थ्य अनुसन्धानका अभियान्ता तथा मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक डाक्टर मृगेन्द्र पाण्डेलाई सम्मान गर्दै पौडेलले हरेक ज्येष्ठ नागरिकले आफ्ना सन्तानहरुबाट माया र स्नेहको अपेक्षा गरेका बताए ।

राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको भएपनि आफ्ना सन्ताले सम्मान नगरेसम्म राज्यको सम्मानले कुनै अर्थ नराख्ने पौडेलको भनाइ छ । सो अवसरमा ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय गैंडाकोटले स्वास्थ्य अनुसन्धानका अभियान्ता तथा मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक डाक्टर मृगेन्द्र पाण्डे तथा समाजसेवी छाया श्रेष्ठलाई सम्मान गरेको छ । ८७ वर्षीय डाक्टर पाण्डेले चिकित्सा क्षेत्रमा उल्लेख्य काम गर्नुभएको भन्दै प्रतिष्ठानले सोमबार गैंडाकोटमा उनलाई कदरपत्र सहित सम्मान गरेको हो ।
सो अवसरमा डाक्टर पाण्डेले प्रतिष्ठानलाई एक लाख रुपैयाँ सहयोग समेत प्रदान गरेका थिए । सबै मानिस ज्येष्ठ नागरिकको दर्जामा पुग्ने उल्लेख गर्दै सहभागीहरुले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्ने परम्पराको विकास गर्नुपर्ने बताएका छन् ।

सो कार्यक्रममा डाक्टर पाण्डेले विदेशबाट धेरै अवसरहरु आएको भएपनि नेपाल र नेपालीको मायाका कारण विदेशीन नसकेको बताए । पछिल्लो समय चिकित्सा क्षेत्रमा कमाउने खेल भएको भन्दै बिरामीको स्वास्थ्यसँग खेलवाड नगर्न पाण्डेले चिकित्सकहरुसँग आग्रह गरेका छन् ।
सम्मान कार्यक्रम ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय गैंडाकोटका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षतामा भएको थियो ।