वालमैत्री वडा वन्यो  रत्ननगर ५

चितवन असोज ५ । चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ५ लाई वालमैत्री तथा वालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा भित्र रहेका श्रमिक वालवालिकाहरुलाई श्रमबाट मुक्त गराई शुक्रवार वालमैत्री वडा घोषणा गरिएको हो ।

यो संगै रत्ननगरका २ वटा वडा वालमैत्री वडा घोषणा भएको छ । यसअघि गत जेठ २९ गते रत्ननगर ३ वालमैत्री वडा घोषणा भएको थियो । रत्ननगर उद्योग वाणिज्य संघले युनिसेफ नेपाल र रत्ननगर उद्योग वाणिज्य संघको सहयोगमा नगरमा वाल संरक्षण तथा वालश्रम न्युनिकरण कार्यक्रम संचालन गरिरहेको छ ।

रत्ननगर ५ मा ११ जना श्रमिक वालवालिका थिए । जस मध्ये ५ जनालाई श्रमबाट मुक्त गरी विद्यालय भर्ना गरिनुका साथै ६ जनालाई शिपमुलक तालिम प्रदान गरिएको छ । झुवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहकाबीच प्रतिनिधी सभा सदस्य एवंम् पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वडाध्यक्ष कृष्ण महतोलाई वालश्रममुक्त वडा घोषणा प्रमाणपत्र हस्तान्तरण गरे ।

वडाध्यक्ष कृष्ण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश साँसद कृष्ण खनाल, साँसद कंचन खनाल,जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,रत्ननगरका मेयर नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,वडाध्यक्ष तीलकराज शर्मा,कार्यपालिका सदस्य राजेन्द्र हमाल,नगरस्तरी वाल सञ्जालकी अध्यक्ष युनिका ढकाल लगायतले मन्तव्य राखेका थिए ।