बुटवलमा रातोपाटीको  प्रदेश नं. ५ प्रदेश कार्यालय शुरु

 

 

बुटवल, असोज २ । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा स्थापना गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मंगलबार बिहान उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले राजनैतिक रुपमा परिवर्तन जति सजिलो हुन्छ, सामााजिक परिवर्तन त्यति सजिलो नभएको बताए ।

‘संघीयता कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइसकेको छैन,’ उनले भने ।

मुख्यमन्त्री पोख्रेलले कामका आधारमा आलोचना नभएको पनि गुनासो गरे । ‘संघीयता महंगो भयो भन्ने आरोप पनि आएको छ,’ उनले भने, ‘अढाई सय वर्षसम्मको इतिहासले किन समृद्धि आएन खोज्न सकेनौँ । तर, छ महिनामै संघीयताप्रति नकारात्मक टिप्पणी आयो । अहिले संघीयताको सफलता र असफलता भनेर मूल्याकंन गर्ने समय भइसकेको छैन ।’

उनले काम गर्न दिए अहिलेको सरकारले नेपालको आर्थिक बृद्धि दर दोहोरो अंकमा पुर्याएर देखाउने दाबी गरे ।

फरक प्रसंगमा पोख्रेलले समाजमा हुने अपराधलाई राज्यलाई दोष दिन नहुने बताए । ‘गल्ती, हेलचेक्रयाईबाट हुने घटनालाई राज्यलाई जोडियो । परिवार र समाज पनि सचेत हुनुपर्छ,’ उनको भनाई थियो ।

त्यस्तै एउटा तहले गरेको करको बिषयलाई सबै स्थानीय तहमा जोडेर लेखिनु गलत भएको पनि बताए । मुख्यमन्त्री पोख्रेलले पुरानो मानसिकताबाट अविश्वास बढाउन र भ्रम सिर्जना गर्नमा लागेको आरोपसमेत लगाए । ‘अस्थिरता बढाउन चाहनेका गोटी बन्यौँ,’ उनले भने । योजना बनाएर काम गर्ने हो भने प्रदेशलाई छिटै नै समृद्ध बनाउन सकिने दाबी गरे ।

उनले प्रदेशको पत्रकारिताले राष्ट्रलाई दिशानिर्देश गर्छ भन्ने हिम्मतका साथ काम गर्नु सुझाव पनि दिए ।

त्यस्तै, प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कार्यालय स्थापना हुँदा प्रदेशको सूचना केन्द्रसम्म पुर्याउने कुरामा योगदान गर्ने बताए ।

नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले प्रदेशको समृद्धि यात्रामा रातोपाटीबाट सहयोगको अपेक्षा रहेको बताए । यद्यपि, उनले व्यक्तिपिच्छे र गैरपत्रकारबाट अनलाईन चलाउने क्रमलाई रोकिनुपर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले देशको बदलिदो अवस्था अनुसार पत्रकारिता गर्न र जनताको पक्षमा रहेर कलम चलाउन अनुरोध गर्दै प्रदेशका उद्योगीको समस्याले स्थान पाउने अपेक्षा गरे ।
कार्यक्रममा रातोपाटीका संस्थापक ओम शर्माले पत्रकारिता नयाँ ढगले बिकास गर्न अनुरोध गरे । त्यस्तै प्रवन्ध निर्देशक अर्जुन पन्तले व्यवस्था परिवर्तनसँगै पत्रकारिता पनि संक्रमणबाट गुज्रिएकोले अब बिस्तारै प्रेस जगत पनि सुधार हुने विश्वास व्यत गरे ।

कार्यक्रम प्रदेश संयोजक तेजेन्द्र केसीले सञ्चालन गरेका थिए ।