पशुपंक्षी बोक्ने सवारी साधनलाई प्राथमिकता दिन आग्रह

चितवन, ०२ असोज । एम्बुलेन्स, दूध बोक्ने सवारी साधनहरुलाई जस्तै पशु ढुवानी गर्ने सवारी साधनहरुलाई समेत प्राथमिकतामा राखेर सञ्चालन हुन दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
पशु पंक्षीहरु ढुवानी गर्ने काम संवेदनशील भएकाले उनीहरुलाई समयमा नै पु¥याउन नसक्दा क्षति हुने भएकाले सडकमा अवरोध विना नै पशु ढुवानी गर्ने सवारी साधनलाई सञ्चालन गर्न दिनुपर्ने बताइएको हो । मंगलबार चितवनको नारायणगढमा आयोजना गरिएको पशु क्वारेन्टाइन समन्वय बैठकका क्रममा पशु चिकित्सक तथा व्यवसायीहरुले पशुपंक्षीहरु संवेदनशील भएको बताए । एउटै सवारी साधनमा लामो समयसम्म राख्दा उनीहरुलाई तनाब हुने र मर्नेसम्मका घटनाहरु हुनसक्ने पशु चिकित्सकहरु बताउँछन् ।
स्वस्थ पशुपंक्षीको मासु सेवन गर्न सकेमा मानव स्वास्थ्यमा समेत फाइदा पुग्ने भएकाले पशुपंक्षीहरुलाई निर्वाध रुपमा सडकमा सञ्चालन हुन दिनुपर्ने नेपाल भेटेनरी काउन्सिलका उपाध्यक्ष सुवीर सिंहले बताए । पशु क्वारेन्टाइन कार्यालय काठमाडौँका आयोजनामा भएको अन्तरक्रियामा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पशु स्वास्थ्यमा ध्यान दिन सकियो भने मात्रै मानव स्वास्थ्यमा असर नपर्ने बताए । पशु क्वारेन्टाइन कार्यालय काठमाडौँका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर श्रीराम अधिकारीले पशुपंक्षी ढुवानीको कार्यविधि अनुसार पशुपंक्षी ढुवानी गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ३ का प्रमुख प्रहरी उपरीक्षक नविन राई, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल, राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर दयाराम चापागाईलगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।