ढिलासुस्ती अन्त्यका लागि अनुगमन हुन्छ : सभापति रावल

चितवन, ०१ असोज । राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति दिलकुमारी रावलले सरकारले सञ्चालन गर्ने सम्पूर्ण आयोजनाहरुलाई समयमा नै सम्पन्न गराउनका लागि अनुगमन गरिने बताएकी छिन् ।
सरकारले सञ्चालन गर्ने राष्ट्रिय गौरवका आयोजना तथा अन्य आयोजनाहरु समयमा नै सम्पन्न नहुँदा विभिन्न समस्याहरु देखिएकाले त्यस्ता आयोजनाहरुलाई समयमा नै सम्पन्न गराउनका लागि आफ्नो समितिले सुपरीवेक्षण गर्ने सभापति रावलको भनाइ छ । सोमबार चितवनको नारायणगढमा आयोजना भएको जलदेवी सामुदायिक वनको साधारणसभाका क्रममा रावलले सरकारले सञ्चालन गरेका आयोजनाहरुको लागत बढ्दै जाने क्रमको अन्त्यका लागि राष्ट्रिय सरोकार समन्वय समितिले भूमिका खेल्ने बताइन् । साधारणसभाका क्रममा सभापति रावलले समाजमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, ढिलासुस्ती जस्ता कुरितीहरु अन्त्य गर्नका लागि समाजका सबै व्यक्तिहरु निष्ठापूर्वक लाग्नुपर्ने बताइन् ।
साधारणसभामा डिभिजन वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले सामुदायिक वनहरुले संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकाले संरक्षित वनबाट हुने फाइदा समेत उपभोक्ताहरुलाई वितरण गर्नुपर्ने बताए । वरण्डाभार वन क्षेत्रमा जलदेवी सामुदायिक वन पर्ने भएकाले वन र वन्यजन्तुको लागि सो वन महत्वपुर्ण रहेको पौडेलले बताए । जलदेवी सामुदायिक वनको १८ औँ स्थापना दिवस तथा ११ औँ साधारणसभाका क्रममा सहसचिव पद्मराज सिग्देलले हालसम्मका कार्य योजना तथा आगमी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत ढुंगाना लगायतले मन्तव्य राखेका थिए । जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।