सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान आवश्यक

चितवन, ३१ भदौ । २१ औँ शताब्दीको शिक्षामा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान समेत आवश्यक पर्ने सरोकारवालाहरुले बताएका छन् ।
सैद्धान्तिक ज्ञानलाई जीवन उपयोगी बनाउनका लागि प्रयोगात्मक ज्ञान हुनुपर्ने र त्यस्तो ज्ञान विद्यार्थीहरुले आफ्नो जीवनमा लागू गर्नुपर्ने बताइएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेज तथा ज्ञानसुधा टेक्निकल कलेजको दोस्रो बार्षिकोत्सवको अवसरमा वक्ताहरुले प्राविधिक ज्ञानले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने बताए । प्राविधिक ज्ञान लिएको व्यक्ति बेरोजगार बस्न नपर्ने उल्लेख गर्दै आफूले जानेको ज्ञानलाई व्यवहारमा उतार्नका लागि विद्यार्थीहरु लाग्नुपर्नेमा वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिपेन्द्र सुवेदीले जीवन र जीवनउपयोगी शिक्षा विद्यार्थीहरुलाई दिनुपर्ने बताए । प्राविधिक शिक्षासँगै विद्यार्थीलाई सीप दिइएन भने त्यस्तो ज्ञान अपुरो रहने सुवेदीको भनाइ थियो । वर्षिकोत्सव कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बताए ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि फोब्र्स कलेजका विद्यार्थी तथा शिक्षकहरुसँग सहकार्य गरेर प्रहरी अगाडि बढ्न तयार रहेको ढकालको भनाइ थियो । सामाजिक सञ्जाल दुरुपयोगका कारण विद्यार्थी तथा आम नागरिक अप्ठ्यारोमा परेका ढकालले बताए । वर्षिकोत्सवको अवसरमा फोर्ब्स कलेजमा आयोजना गरिएको विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार, स्नताक पहिलो सेमिस्टारको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा फोर्ब्स कलेजका प्रबन्ध निर्देशक राजकुमार दाहाल, भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष भोजराज कौडाललगायतले मन्तव्य राखेका थिए । कलेजका प्राचार्य दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राचार्य हरिशरण पाठकले स्वागत मन्तव्य राखेका थिए ।