टिकौलीको संयुक्त अप्रेसन क्याम्प निस्क्रिय, फोहर फाल्ने सक्रिय

चितवन, ३१ भदौँ । रत्ननगर र भरतपुरलाई जोड्ने टिकौलीस्थित वरण्डाभार जैविक मार्ग भएर दिनँहु हजारौं सवारीसाधन गुड्ने गर्छन् । सो मार्गमा प्रायः गरेर सवारीसाधनमार्फतै यहाँ फोहर ल्याएर फाक्ने गरेको पाइन्छ ।

कतिपयले रातको समय पारेर आफ्नो साधनमा फोहर ल्याएर फ्याक्ने डम्पिङ साइटको रुपमा प्रयोग गर्ने गरेका छन् । वन्यजन्तुको आवातजावत हुने सो मार्गमा करिब एक वर्षयता सवारीसाधन रोक्न मनाही छ । निकै तामझाम गरेर चितवन राष्ट्रिय निकुञ्जले संयुक्त अपरेसन क्याम्प नै खडा गरेर सवारी रोक्न नदिने भनेर अभियान चलायो ।

    तर, त्यसको केही महिनामै यो अभियान हरायो । फोहरबाट वन्यजन्तुलाई पर्न सक्ने असर र सवारी साधन रोक्दा वन्यजन्तुलाई असर पर्ने भन्दै तत्कालीन प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको पालामा जैविक मार्गमा सवारी रोक्न दिइएन । उनकै पालामा यो अभियाननै रोकियो । सो मार्गमा मोटरसाईकल, जीप, ट्रक, बस रोके उनीहरुलाई फरक–फरक जरिवाना तिराउँदै आएको थियो ।

निकुञ्जले अभियान चलाएपनि सो मार्गमा फोहर फाल्ने क्रम भने रोकिएको छैन । अरु वेला खासै चासो नदिने निकुञ्ज, सामुदायिक वन तथा संरक्षणसंग आबद्ध संघसंस्थाहरुले दिवसका दिन मात्रै सरसफाइ गर्ने र आवाज उठाउने गरेको पाइन्छ । विश्व सरसफाइ दिवसको अवसर पारेर जैविक मार्ग सरसफाइ तथा अन्तरक्रिया कार्यक्रममा सेना नै परिचालन गरेर भएपनि सो मार्गमा सफा राख्नुपर्ने आवाज उठेको छ । 

विशेषगरी जैविक मार्ग छेउछाउमा प्लाष्टिक र अस्पतालजन्य फोहरहरु फाल्ने गरेको पाइन्छ । “प्रायः प्लाष्टिकजन्य, अस्पतालजन्य फोहरहरु यहाँ फालेको भेटिन्छ”, रत्ननगर नगरपालिका प्रमुख नारायण वनले भने, “वन, वन्यजन्तु संरक्षणका लागि राजमार्ग क्षेत्रमा सेना परिचालन गरे रोक्ने प्रयास गर्नुपर्छ ।” नगर प्रमुख वनले सो मार्गमा पुल निर्माण गरेर वन्यजन्तुलाई त्यसमुनीबाट आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्नेसमेत सुझाव दिए ।

बरण्डाभार जैविक मार्ग वन्यजन्तुको कोरिडोर भएको भन्दै जहाँ पाए त्यही सवारी रोक्ने गर्दासमेत फोहर हुने गरेको उनको बुभाइ छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख सुशील सिंह राठौरले टिकौली जैविक मार्गमा सवारीसाधनमा कडाइ गर्दासमेत सवारीचालकले लापरबाही गर्ने गरेको बताए ।

डिभिजन वन कार्यालय  र पञ्चकन्या सामुदायिक वन र टिकौली मध्यवर्ती सामुदायिक वनले नै वन हेरालु राखेपनि रातको समयमा फोहर फाल्ने गर्दा समस्या आइरहेको भन्दै चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदबहादुर ढकाल यसमा सवैको सहयोग आवश्यक पर्ने बताउँछन् ।

“निकुञ्जले मात्रै यसको समाधान गर्न सक्दैन”, प्रमुख संरक्षण अधिकृत ढकालले भने, “सबैको साझा प्रयासमा यहाँ फोहर हुन नदिन पहल गर्नुपर्छ ।” सवारीको अत्यधिक स्पीडका कारण जैविक मार्गमा वन्यजन्तुको ज्यानसमेत जाने गरेको छ ।