उपराष्ट्रपति असोज ३ गते चीन जाने

काठमाडौं, ३० भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलूक चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको छ । उहाँ ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्नुहुने उपराष्ट्र पुनका प्रेस संयोजक नन्द बहादुर पुनले जानकारी दिनुभयो । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उहाँको पहिलो वैदेशिक भ्रमण हो ।
सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति चीन जान लाग्नुभएको हो । उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट संबोधन गर्नुहुनेछ । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य थिमका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ ।
उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दूमा आयोजित डिजिटल फोरमलाई संबोधन गर्नुहुनेछ । चीनमा रहँदा उहाँले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेट वार्ता गनुहुनेछ । उहाँले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नुहुनेछ ।
उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायत हुनुहुनेछ ।
सिपिसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिले मेला आयोजक समितिको तर्फबाट गरेका निमन्त्रणामा चीन जान लाग्नुभएका उपराष्ट्रपति असोज ८ गते स्वदेश फर्कनुहुनेछ । अघिल्लो कार्यकालमा उपराष्ट्रपतिले दुई पटक चीनको औपचारिक भ्रमण गर्नुभएको थियो ।