बाग्लुङ र गुल्मीको सिमानामा रहेको बढिघाट खोला बग्न थाल्यो, खतरा कम

बालकृष्ण सुवेदी

बाग्लुङ, ३० भदौ ।  बाग्लुङ र गुल्मीको सिमानामा रहेको  बडिगाड र ढोरपाटन नगरपालिकाको सीमाना तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा ७ घण्टादेखि थुनिएको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेको छ । शुक्रबार मध्यराति ११ बजे मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले बडिगाड खोलो थुनिएको हो ।

पहिरोले खोला थुनिएपछि जमेको पानीले खोलाको माथिसम्म ठूलो ताल बनेको छ। तालको पानी बिस्तारै ओभरफ्लो भएर बग्न थालेको बढिघाट गाउँपालिका ७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।  खोला थुनिएपछि ढोरपाटन नगरपालिका–२ सिमलचौरका ४ घर डुबानमा परेका छन् । खोला थुनिदा दुर्इ किलोमिटर माथिसम्म पानीको ताल फैलिएको छ ।

जमेको पानी बग्न थालेसँगै फैलिदो क्रममा रहेको तालको पानी दुई फिट घटेको गुरुङले बताउनसभयाे । पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन एक साता करीब लाग्ने देखिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । पहिरोले करिब ५ सय मिटर सडक अबरुद्ध बनेको छ ।

थुनिएको खोलाले बिस्तारै आफ्नो बहाव ल्याउन थालेकाले ठूलो जोखिम टरेको उनले बताए । ठूला ढुगांसहित खोला थुनिएकाले फुट्ने सम्भावना नभए पनि तल्ला तटीय क्षेत्र भीमगिठे, खाल, खार लगायतका बासिन्दालाई बिशेष सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो । अहिले बढिघाट खोला आफ्नै गतिमा आएकोले अव खतरा टरेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो।