विद्यार्थीहरुद्वारा प्राविधिक शिक्षामा जोड

चितवन, २९ भदौ । विद्यार्थीहरुले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसर पारेर त्रिपुरेश्वर कृषि सहकारी संस्थाले आयोजना गरेको जीवन उपयोगी र प्रविधि शिक्षा आजको आवश्यकता विषयक अन्तर मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुले नेपालको माटो सुहाउँदो शिक्षामा जोड दिएका हुन् ।
नेपालमा शिक्षा हासिल गरेका व्यक्तिहरु विदेशमा गएर जस्तो सुकै काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नका लागि समेत जीवन उपयोगी शिक्षाको आवश्यकता परेको प्रतियोगि विद्यार्थीहरुको भनाइ छ । प्रविधिको प्रयोग गर्दै जीवनलाई सहर बनाउन सकिने विद्यार्थीहरुले बताए । कार्यक्रममा भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख बाबुराम दवाडीले समाजका हरेक क्रियाकलापमा बालबालिकालाई सहभागी गराइनुपर्ने बताए । नेपालको माटो सुहाउँदो शिक्षा नीति आवश्यक भएको उल्लेख गर्दै दवाडीले प्राविधिक शिक्षा विना मुलुकको विकास सम्भव नभएको बताए ।
सो वक्तृत्वकला प्रतियोगितामा गुरुकुल माविकी दिव्या कंडेल पहिलो भएकी छिन् । प्रतियोगितामा स्टेप बाई स्टेप स्कुलकी दृश्या अधिकारी दोस्रो तथा एसओएस बालग्रामकी विनिता बास्तोला तेस्रो भएका कार्यक्रम संयोजक सुमन गैरेले बताए । भरतपुर महानगरपालिका वडा नम्बर ८ र ९ मा रहेका आठ वटा विद्यालयका नौ जना विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए ।
त्यस्तै सो कार्यक्रममा त्रिपुरेश्वर कृषि सहकारीले २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने संस्थाको शेयर सदस्यहरुका छोराछोरीहरुलाई समेत सम्मान गरेको छ । एसईई परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने कृष्णानांशु कर्ण तथा अम्बिका कंडेल साथै संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याउने कोमलराज पौडेल तथा अस्मिता भुषाललाई सम्मान गरिएको छ । त्रिपुरेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष वेदप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ९ का अध्यक्ष यमलाल कंडेल प्रमुख अतिथि रहेका थिए ।