गेष्ट हाउस चौरमा बन्ने सिटी हलको बिरोध सुरु

चितवन, २८ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको गेष्ट हाउस चौरमा सिटी हल बन्ने सहमति भएसँग यसको स्वागत र विरोध सुरु भएको छ ।
यस अगाडि भरतपुर ७ मा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सुविधा सम्पन्न सिटीहल निर्माण गर्नका लागि प्रकृया अगाडि बढाएपनि नेपाली काँग्रेसको बिरोधका कारण महानगरपालिका पछाडि फर्किएको थियो । यस पटक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गेष्ट हाउस चौरमा सिटी हल बनाउनका लागि सहमति गरेको भएपनि स्थानीय बासिन्दा र सत्तारुढ दलकै व्यक्तिहरुले यसको बिरोध गरेका छन् । बजारको बीचमा रहेको खाली ठाउँ मासेर सिटी हल निर्माण गरिदा भुकम्प जस्ता विपत्ति आउँदा सुरक्षित ठाउँ नहुने स्थानीय बासीको भनाइ छ ।

विभिन्न खालका सभा सम्मेलन, कार्यक्रम हुँदै आएको गेष्ट हाउस चौरलाई यथास्थानमा नै छोडिनुपर्ने स्थानीय पुष्पनीधि आचार्य बताउनुहुन्छ । यसैबीच, विकेकशील साझा पार्टी चितवनले समेत प्रेस विज्ञप्ती जारी गर्दै राजनीतिक दाउपेचका आधारमा गेष्ट हाउस चौरमा सिटी हल बनाउन भएकोे सहमति जनताको लागि घातक हुने जनाएको छ । जिल्ला संयोजक भूपेन्द्र बस्नेतद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा खुल्ला र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकहरुको अधिकारको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौर हालकै अवस्थामा राख्दै त्यसको विकल्प खोज्नका लागि आग्रह गरिएको छ ।
पाँच हजार मानिस क्षमताको अन्तर्राष्ट्रिय स्तरको सिटी हल निर्माणको लागि भन्दै भरतपुर महानगरपालिकालाई ५० हजार रुपैयाँ निकासा भइसकेको छ । चार बिघाहा नौ धुर क्षेत्रफल रहेको गेष्ट हाउस चौरमा सिटी हल निर्माण हुने भएपछि त्यहाँ वरिपरी रहेका विभिन्न मन्दिर, सरकारी आवासहरु भत्किनेछन् ।