प्रदेश नम्बर ३ मा नेकपा नेतृत्व माओवादीले पाउने सम्भावना बलियो

 

हेटौँडा,२८ भदौ । नेकपाले पार्टी एकिकरणको विषयलाई टुंगो लगाउनको लागि हिजोबाट सचिवालयको बैठक सञ्चालन गरिरहेको छ ।
बैठकमा प्रमुख गरि पार्टी एकिकरणमा बाँकी रहेको काम सक्ने विषयमा छलफल केन्द्रीत भएको छ । त्यसबाहेक सरकारको कामकारबाही, मन्त्री हेरफेरको विषयमा समेत कुराकानी भएको नेकपा सचिवालय श्रोतले जनाएको छ ।
नेकपा महासचिव विष्णु पौडेलले जिल्ला तह तथा भातृ संगठनको एकता पुर्व प्रदेश कमिटि निर्माणको विषयलाई प्राथमिकता दिनुपर्ने बताएपछि नेकपामा अब सातैवटा प्रदेशमा को अध्यक्ष बन्ने तथा को इन्चार्ज बन्ने भन्ने विषयमा गहन छलफल भएको हो ।

छलफलसँगै सचिवालयले सातै प्रदेशको अध्यक्ष, सचिव तथा इन्चार्जको लगभग टुंगो लगाईसकेको श्रोतको दाबी छ । यो सँगै सबैभन्दा विवाद तथा पेचिलो प्रदेश नंबर ३ बनेको छ ।

तरपनि प्रदेश नंबर ३ को अध्यक्ष पुर्व माओवादीले पाउने संभवना बढी रहेको श्रोतको दाबी छ । प्रदेश नंबर ३ मा पुर्व एमालेको तर्फबाट शेरबहादुर तामाङ र काशीनाथ अधिकारीलाई अध्यक्षको लागि पहल गरिएको भएपनि पूर्वमाओवादीबाट हितमान शाक्य र नारायण दाहालको दावी छ । प्रदेश इञ्चार्जमा अष्टलक्ष्मी शाक्यको सम्भावना छ । यद्यपि अग्नि सापकोटा र हरिबोल गजुरेल पनि इञ्चार्जका दाबेदार हुन् ।