रेफ्री कोर्षमा १७ जना प्रशिक्षार्थी उत्तीर्ण

चितवन, २७ भदौ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा रेफ्री कोर्षमा एक जना महिला सहित १७ जना प्रशिक्षार्थी उत्तीर्ण भएका छन् ।
तीन जना महिलासहित विभिन्न चार जिल्ला वटा जिल्लाका २५ जना प्रशिक्षार्थी सहभागी भएको कोर्षमा उत्तीर्ण भएका १७ जनाले एन्फा ब्याच प्राप्त गर्दै एन्फा रेफ्री बनेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा चितवन जिल्ला फुटबल संघले भदौ २१ गतेदेखि एक हप्ते रेफ्री कोर्ष प्रदान गरेको थियो । कोर्षको समापनका अवसरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यले खेलकुद र स्वास्थ्य एकअर्कामा सम्बन्धीत रहेको बताए ।
खेलकुदमा धेरै पाटोहरु भएको उल्लेख गर्दै आचार्यले शारीरिक, मानसिक रुपमा समेत खेलकुदले व्यक्तिलाई स्वस्थ राख्ने बताए । सात दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक रुपमा दिइएको प्रशिक्षणमा एन्फाका पूर्व रेफ्रीहरु श्रीराम रञ्जितकार, शैलेश जोशी, लव खत्री, रोजेन श्रेष्ठ र वीरेन्द्र पाण्डेले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई विभिन्न खालको परीक्षामा उत्तीर्ण भएपछि मात्रै एन्फाको ब्याच प्रदान गरिएको चितवन फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
चितवन जिल्ला फुटबल संघका कार्यवाहक अध्यक्ष अनिल शाक्यको अध्यक्षतामा भएको रेफ्री तालिमको समापनका क्रममा रेफ्री एवम् चितवन जिल्ला फुटबल संघका सदस्य प्रकाश भुजेल, प्रशिक्षक लव खत्रीलगायतले मन्तव्य राखेका थिए ।