फुजेल घटनाका अभियुक्त आज थुनामुक्त हुँदै, स्वागतका लागि प्रचण्ड आफै जाने

काठमाडौं, २५ भदौ । सफाई पाएपछि फुजेल काण्डका अभियुक्त आज थुनामुक्त हुदैँ छ ।  चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएकाहरुलाई आइतबार सफाई दिएको हो ।

अदालतले १३ जनामध्ये १२ जनालाई सफाई दिएको छ  ।घटनाका दोषी मानिएका छविलाल पौडेल सोमबार थुनामुक्त हुँदैछन् । २४ असारमा आत्मसमर्पण गरेपछि उनी डिल्लीबजार कारागारमा थिए ।

अदालतले डिल्लीबजार कारगारलाई पत्र लेखेर पौडेललाई सोमबार थुनामुक्त गर्न आदेश दिएको छ । पौडेल भोलि विहान जेलमुक्त हुने भएपछि उनको स्वागतका लागि नेकपाका अध्यक्ष प्रचण्ड आफै जाने बुझिएको छ ।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो।