संस्कृति संरक्षण गर्न लागि पर्दे नवलपुरका थारु समुदाय

 

बिबेक भण्डारी
नवलपुर, २४ भदौ । पहिलेदेखि मान्दै आएका चालचलन र संस्कृति विस्थापित हुन लागेकोप्रति नवलपुरका थारु समुदाय चिन्तित छन् ।
आफ्नो समुदायमा रहेका मौलिकरहनसहन र चालचलनमा परिवर्तन हुँदै गएपछि उनीहरुलाई आफ्नो विशिष्ट पहिचान गुम्ने डर छ । जसले गर्दा विभिन्न उपाय अपनाइ आफ्ना राम्रा संस्कृति संरक्षणमा लागेका हुन् ।
जसको लागि युवा जमातलाई संस्कृति र रीतिरिवाजको बारेमा शिक्षा दिनुपर्ने भएकोले होमस्टेद्वारा थारु संस्कृति संरक्षणमा लागेको कावासोती–१५ की मिना चौधरीको भनाइ छ ।
पहिले थारु समुदायले प्रयोग गर्ने सामग्रीहरु विस्तारै हराउँदै छन् । साथै थारु समुदायले बनाउने घरको बनावट पनि अहिले देखिँदैन आधुनिक सुविधातर्फ मोह बढेकोले समयअनुसार परिवर्तन भएको स्थानीय लक्ष्मी चौधरी बताउँछिन् ।
उसो त राम्राराम्रा पुराना संस्कृतिहरु देशव्यापी रुपमै विस्थापित भइरहेको वर्तमान अवस्थामा थारु संस्कृति संरक्षण गर्न पनि त्यति सहज भने छैन ।
तर चुनौतीका बीच पनि नवलपुरका थारु समुदाय आफ्नो सांस्कृतिक अस्तित्व जोगाउने अठोट गरेका छन् ।
संस्कृति लोप हुन नदिन सबैभन्दा पहिले युवा पिँढीलाई थारु संस्कृतिको बारेमा ज्ञान दिने र त्यसको महत्व बुझाउनुपर्ने तेजनारायण महतोको भनाइ छ । कुसंस्कार र कुप्रथाको विरोध गर्ने नाउँमा हाम्रा कतिपय सुसस्कृतिहरु पनि अहिले धरापमा परिरहेका छन् ।
विदेशी संस्कृति भित्रिँदै गएको र मौलिक सभ्यता,संस्कृतिमा दिनहुँ प्रहार भइरहेको छ । यसमा थारु समुदायका साथै अन्य मौलिक र विशिष्ट पहिचान बोकेका संस्कृति संरक्षणमा हामी सबै एकजुट हुनुपर्ने अवस्था आएको छ ।