भरतपुरको क्षेत्रपुरमा मौलिकतामा आधारित तीज विशेष कार्यक्रम

चितवन, २३ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा तीज विशेष कार्यक्रम गरिएको छ ।
बालकुमारी चोक नारायणगढमा रहेको महानगर कृषि सहकारी संस्था लिमिटेड र क्षेत्रपुरको आदर्श आमा समूहको आयोजनामा भएको तीज विशेष कार्यक्रममा महिलाहरुले मौलिकता झल्किने गरि तीज गीत प्रस्तुत गरेका थिए । लोक लयमा आधारित गीत गाउँदै मादलको तालमा नाचेर महिलाहरुले तीज विशेष कार्यक्रम गरेका हुन् । महिलाहरुले गीतको माध्यमबाट तीजको बेलामा समेत माइतीमा जान नपाउँदा हुने पीडाहरु प्रस्तुत गरेका थिए ।

नेपालीहरुको मौलिक संस्कृति संरक्षण र जगेर्ना गर्नका लागि तीज विशेष कार्यक्रम आयोजना गरिएको महानगर कृषि सहकारी संस्था लिमिटेडका सचिव प्रमोद पौडेलले बताए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठले महिलाहरुको महान् चाडको रुपमा मनाइने तीजको संरक्षण गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय पार्टी प्यालेसमा गएर आधुनिक तीज मनाउँदै विकृति भित्रिएकोमो खेद व्यक्त गर्दैै वडा अध्यक्ष श्रेष्ठले क्षेत्रपुरमा महानगर सहकारी र आदर्श आमा समूहले आयोजना गरेको जसरी नै अन्य संघसंस्था तथा समूहहरुले तीज मनाएमा मौलिक संस्कृति संरक्षणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापाले महिलाहरु भेला भएर मौलिक रुपमा तीज गीत मनाउँदा राम्रो सन्देश जाने बताए । नेपालीको मौलिक संस्कृति संरक्षणमा सबै जुट्नुपर्ने थापाको भनाइ थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का सदस्य मानबहादुर राना, महानगर कृषि सहकारी संस्थाका अध्यक्ष सुनील मास्के, महानगर कृषि सहकारी संस्थाका उपाध्यक्ष केशव लामिछाने, आदर्श आमा समूहका सल्लाहकार गोविन्द अर्याललगायतको शुभकामना तीजको शुभकामना व्यक्त गरेका थिए ।
आदर्श आमा समूहकी अध्यक्ष मिन्द्रा कुमारी श्रेष्ठको अध्यक्षतामा भएको तीज विशेष कार्यक्रममा उपाध्यक्ष बेलपत्र मास्केले स्वागत मन्तव्य राखेकी थिइन् ।