दूर्व्यसनी विरुद्ध सचेताना फैलाउँदै सन्देश फाउन्डेशन

चितवन, २२ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर २४ का स्थानीय बासिन्दाहरुले गाउँमा लागु पदार्थको दूर्व्यसनीहरु धेरै भएकाले उनीहरुलाई पुरानै अवस्थामा फर्काउन सहयोग गर्न आग्रह गरेका छन् ।
लागु औषध विरुद्धको अभियान सञ्चालन गर्दै आएको सन्देश फाउन्डेशन नेपाल भरतपुर महानगर लागु औषध रोकथाम अभियानले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनीहरुले बस्तीको हरेक घरमा लागु औषध दूर्व्यसनी रहेको बताएका थिए । वडा नम्बर २४ को समी चोकमा आयोजना गरिएको कार्यक्रममा त्यहाँका समुदायका व्यक्तिहरु गरिब, बेरोजगार तथा सुकुम्बारी रहेकाले समेत दूर्व्यसनीमा फसेको स्थानीय समाजसेवी बाबुराम केसीले बताए ।

अन्तरक्रियाका क्रममा वडा स्तरीय टोल सुधार समन्वय समितिका संयोजक रामबहादुर थापा मगरले दलित बस्तीका केही युवाहरु लागु औषधमा संलग्न रहेको कारण कारागार भुक्तानी गरिरहेका बताए । बस्तीलाई लागु औषध दूर्व्यसनी मुक्त बनाउनका लागि सरकारले सहयोग गर्नुपर्ने मगरको भनाइ थियो । सन्देश फाउन्डेशन नेपालले सञ्चालन गरेको अभियानको संयोजक दिवाकर श्रेष्ठले अहिले सचेतनामूलक कार्यक्रम गरिएकोले यस पछाडि स्वरोजगारमूलक कार्यक्रम ल्याएर समुदायमा जाने बताए । समाजमा सचेतना फैलाएपछि लागु औषध दूर्व्यसनी घट्ने भएकाले उनीहरुको पुनस्र्थापनाका लागि पछि कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी गरिरहेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा वडा अध्यक्ष कान्छाबहादुर मल्लले स्थानीय प्रशासनसँगको सहकार्यमा आफ्नो वडालाई लागु औषध मुक्त बनाउन काम थाल्ने बताए । महानगरपालिकासँग समन्वय गर्दै दलित बस्तीमा सीपमूलक कार्यक्रम लगेर युवाहरुलाई कूलतमा फस्नबाट जोगाउन पहल गर्ने मल्लको भनाइ छ । अन्तरक्रियामा सन्देश फाउन्डेशन नेपालका प्रतिनिधि तथा पूर्व दूर्व्यसनी रञ्जित तिमिल्सीना र जितेन्द्र अधिकारीले लागु औषधमा फस्दा घरसमाज सबैबाट अपमानित हुनुपर्ने अनुभव सुनाएका थिए ।

यसैबीच, शुक्रबार नै भरतपुर २४ ध्रुवमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा भएको अन्तरक्रियामा सन्देश फाउन्डेशनका कलाकारहरुले सचेतनामूलक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै लागु औषधका कारोबारेहरुले आफ्नो जालो फैलाएकाले विद्यार्थी तथा शिक्षक शिक्षिका र अभिभावक सबै सचेत हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वडा सदस्य बुद्धलाल घिसिङको अध्यक्षतामा भएको सचेतनामूलक कार्यक्रममा वडा नम्बर २४ की दलित महिला सदस्य विमा कुमारी विक प्रमुख अतिथि रहेकी थिइन् ।
सन्देश फाउन्डेश नेपालले भरतपुरको २९ वटै वडामा लागु औषध विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।