खैरहनीका कृषकलाई निशुल्क नौनी घ्यू वितरण

रत्ननगर भदौ २० ।
चितवनको खैरहनी नगरपालिका १० शान्तिवजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले कृषक शेयर सदस्यहरुलाई निशुल्क नौनी घिउ वितरण गरेको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर संस्थामा आवद्ध कृषक शेयर सदस्यहरुलाई नौनी घिउ वितरण गरिएको हो । संस्थाका अध्यक्ष वालकृष्ण उप्रेतीका अनुसार प्रति एक कृषक शेयर सदस्य वरावर रु ७ सयको नौनी वितरण गरिएको छ । पहिलो दिन मंगलवार १ क्वीन्टल नौनी कृषकहरुलाई प्रदान गरिएको अध्यक्ष उपे्रतीले वताए । निशुल्क रुपमा नौनी प्रदान गर्ने सुचना पाएपछि कृषकहरुको भीडनै लागेको थियो । सो संस्थामा ३ सय ३७ जना दुग्ध उत्पादन गर्ने कृषक शेयर सदस्य छन् ।

मंगलवार अपुग भएका कृषकहरुलाई बुधवार प्रदान गरिएको छ । निशुल्क रुपमा कृषकलाई यसरी नौनी प्रदान गर्ने नन्दिनी दुग्ध उत्पादन सहकारी संस्था सम्भवतः पहिलो हो । सो संस्थाले कृषकहरुका लागि घाँसमा प्रति कठ्ठा ५ सय अनुदान,सुत्केरी पशुलाई भत्ता,मिल्क क्यान,पशुपालनका लागि ६ प्रतिशत व्याजमा ऋण लगानी गर्नुका साथै कृषक शेयर सदस्यहरुको देवहसान भएमा रु ५ हजार भेटी स्वरुप प्रदान समेत गर्दै आएको संस्थाका व्यवस्थापक लिलावहादुर थपलियाले जानकारी दिए । थपलियाका अनुसार प्रत्येक दशै अगाडी प्रति लिटर ३ रुपैया थप रकम समेत कृषकहरुलाई प्रदान गर्दै आएको छ ।