नेपाल–चीन अधिकारीबीच बैठक सुरु

काठमाडौं,२० काठमाडौँ । नेपाल–चीन पारवहन तथा व्यापार सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका दुई देशबीचको व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई टुंगो लगाउन दुवै देशका अधिकारहरुबीच तेस्रो पटक बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पारवहन यातायात सम्झौताको प्रोटोकललाई असोज १५ गतेभित्र टुंग्याइसक्ने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरु छलफलमा जुटेका हुन्।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले गरेका छन् भने चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गरेका छन्। बैठकमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरु सहभागी रहेका छन्।

प्रधानमन्त्रीको रुपमा सन् २०१६ मा केपी ओली चीन भ्रमणमा जाँदा दुई मुलुकबीच पारवहन यातायात सम्झौता गर्ने सहमति गरिएको थियो। सोही सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरीय बैठक सुरु गरिएको हो।

दुई दिनसम्म चल्ने बैठकले सो सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैजुले जानकारी दिए।