नारायणी नदीको कटानले एक हजारभन्दा बढी घर उच्च जोखिममा, नजिकैका दुई घर स्थानान्तरण (फाटोफिचर)

 

चितवन, १९ भदौ । नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो ।

 

नजिकैका दुई घर स्थानान्तरण गरिएको र अन्य केही घर स्थानान्तरण गर्ने क्रममा रहेको पनि उहाँले बताउनुभयो । नदीले कटान गरिरहेका ठाउँमा जाली र बोरामा बालुवा, ढुङ्गा, गिट्टी भरेर नियन्त्रण गर्ने काम भइरहेको छ ।

त्यस्तै रूखका मुडा, बाँससमेत प्रयोग गरेर नदी नियन्त्रणको काम भइरहेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

आज बिहान अकस्मात नदीले तटबन्ध बगाएपछि दाहालको नेतृत्वमा प्रजिअ बस्नेतसहित सुरक्षा निकायका प्रमुखलगायत त्यहाँ पुग्नुभएको थियो ।

सो ठाउँमा अहिले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी, स्थानीयलगायत नदी नियन्त्रणमा लागिपरेको प्रमुख दाहालले बताउनुभयो । नदी पसेमा वडा नं २८ पूर्णरुपमा प्रभावित हुने भएकाले सतर्क रहन प्रचार प्रसार गरिएको पनि उहाँले बताउनुभयो । (रासस)