कवि कृष्ण प्रसाद पोखरेलको ‘बूढो बैँस’ (भिडियो)

केशै सेता हिमसरि भए , छोप्न काली लगाएँ ।
छ्याङ्गै देख्ने हुन नयनमा , काँच चस्मा सजाएँ ।।
तन्देरी झैं हुन मुखभरी , दाँत टम्मै भराएँ ।
भित्री आफैं सिथिल मनभो , बैंस भन्दै कराएँ ।।

छेक्दा छेक्दै नकलहरुले , फुत्किएको जवानी ।
ज्यानै बूढो मनछ तरुणो , बोल्छ लाजै नमानी ।।
प्यूँदा प्यूँदै रहर नपुगी , चाहनामा हराएँ ।
भित्री आफैं सिथिल मन भो , बैँस भन्दै कराएँ ।।

हेर्दा छोराहरु सब भए , आज आफैं समान ।
साठी काटेपनि त मनले , भन्छ चिन्ता नमान ।।
आँखा लोभी मन छ तरुणो , ज्यानलाई सच्याएँ।
भित्री आफैं सिथिल मन भो , बैंस भन्दै कराएँ ।।

यौटै बाटो समय गतिमा , बग्छ यो जिन्दगानी ।
सुत्दा बस्दा पनि गति उही , लिन्छ झर्कोनमानी ।।
जाँदा जाँदै समय सुषमा , रोक्नखोज्दै रमाएँ ।
भित्री आफैं सिथिल मन भो , बैंस भन्दै कराएँ ।।

डुल्दै उर्जा्शिल समय गो , चिन्तना रम्छ खाली ।
आँखा छोपी परित कसरी , देख्छ त्यो दीप बाली ।।
चुन्दा चुन्दै रहर मनको , शुन्यतामा बिसाएँ ।
भित्री आफैं सिथिल मन भो , बैंस भन्दै कराएँ ।।

मन्दाक्रान्ता छन्द

कृष्णप्रसाद पोखरेल
इच्छाकामना ३ चुम्लिङटार चितवन

कविता वाचन

खगेन्द्र समरस