चोरीको मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

चितवन, १८ भदौ । चोरीका मोटरसाइकल प्रहरीले बरामद गरि सवारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा प्रहरीले बरामद गरेको दुई वटा मोटरसाइकल प्रहरीले सोमबार सवारी धनीलाई हस्तान्तरण गरिएको हो ।
प्रुडेन्सीयल ईन्स्योरेन्स कम्पनीबाट ईन्स्योरेन्स गरिएको मोटरसाइकल प्रहरीले हस्तान्तरण गरेको हो । घरमा नै राखिएको मोटरसाइकल चोरी भएपछि सवारी धनीले इन्स्योरेन्स क्लेम गरेर इन्स्योरेन्स वापतको रकम लगिसकेको कारण सो मोटरसाइलक इन्स्योरेन्स कम्पनीलाई प्रदान गरिएको हो । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीका प्रतिनिधि दिव्य निरौलालाई मोटरसाइकल हस्तान्तरण गरिएको हो ।
प्रहरीले पक्राउ गरेर राखेका २५ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको उल्लेख गर्दै प्रहरी प्रमुख सुशील सिंह राठौरले ती मोटरसाइकका सवारी धनी खोज्ने काम भइरहेको जानकारी दिए । चोरी भएको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि चितवनमा ल्याएर बिक्री गर्ने गिरोह सक्रिय छन् । विशेष गरि काठमाडौँबाट मोटरसाइकल चोरी गरेर चितवनमा ल्याएर बेच्ने तथा चलाउने गिरोहहरु सक्रिय भएको प्रहरीले जनाएको छ ।