ठूलो परिणाममा भारतीय रूपैयासहित युवक पक्राउ

भद्पुर, झापा,१८ भदौ । झापाको काँकडभिट्टा नाकाबाट ठूलो परिणाममा भारतीय रूपैयासहित एक नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर निवासी ३२ बर्षीय रविन्द्र बज्राचार्यलाई पक्राउ गरिएको नेपाल सशस्त्र प्रहरी बल, गुल्म हेकुवा राजश्व गुल्म काकडभिट्टाका सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरेले जानकारी दिए ।

उनका अनुसार बज्राचार्यलाई १२ लाख ८० हजार भारूसहित पक्राउ गरिएको हो । मेचीनगर ६ स्थित भन्सार चेकपोईन्टमा उनको झोला एक्सरे मिशनमा हालेपछि रकम भेटिएको हो । उनले सो रकम भारतबाट नेपाल भित्राई काठमाडौं लैजान लागेको अनुसन्धानको क्रममा खुलेको जनाईएको छ । उनले भारतीय ५०,१००,२०० का नोट बोकेका थिए । बरामद गरिएको नोट भन्सार सँगको सहकार्यमा राजश्व अनुसन्धान विभाग काठमाडौँ आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

पछिल्लो समय झापा र भारतको पश्चिम बङ्गाल सीमावर्ती बजार क्षेत्रमा पछिल्लो समयमा नक्कली नोट र नक्कली सुन कारोबारी हुन थालेपछि सीमामा प्रहरी सक्रियता बढेपछि भारतीय नोट फेला परेको हो ।