मन्त्रीसँग प्रतिनिधिसभामा प्रश्नोत्तर शुरु, शिक्षामन्त्री गिरिराजमणी पाेखरेलसँग सांसदहरूले प्रश्न साेध्दै

 

काठमाडैं,  १८ भदौ । संघीय संसदले सोमबारदेखि मन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम शुरु गरेको छ ।

प्रतिनिधिसभा संचालन नियमावलिको परिच्छेद ८ ले गरेको व्यवस्था अनुसार सोमबारदेखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम शुरु गरिएको हो । नियमावलीको परिच्छेद ८ ले नेपाल सरकारको उत्तरदायित्वभित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने व्यवस्था छ ।

प्रश्नोत्तरको व्यवस्थाको कार्यान्वनय भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका विषयमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग मौखिक प्रश्न सोधेका छन्।

सांसद संञ्जयकुमार गौतमले बजेट बक्तव्यको बुँदा नम्बर ४९ मा आर्थिक रुपमा बिपन्न समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च, प्राविधिक तथा व्यवसायिक अध्ययनका लागि ५ प्रतिशत व्याज अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउने भनिएको र त्यसकाे कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक प्रबन्ध कहिले सम्म मिलाउँछ ? भनि प्रश्न गर्नुभएको थियो ।

सांसद गौतमको मौखिक प्रश्नको उत्तर दिदै मन्त्री पोखरेलले उच्चशिक्षा अध्ययनका लागि र्निव्याजी र सहुलितपूर्ण श्रृण प्रवाह गर्नका लागि कार्यविधि तयार भईसकेकाे र पहिलो चौमासिकमा नै कार्यविधिकलाई अन्तिम रुप दिने तयारीमा मन्त्रालयल लागिरहेको स्पष्ट पार्नुभयो ।

उच्च शिक्षाका कुन विषयलाई कुन कार्यक्रम अन्र्तगत सम्बोधन गर्ने भन्ने कार्यविधिले नै टुंगो लगाउने उहाँले स्पष्ट पार्नुभयो । यस कार्यक्रमलाई अघि बढाउनका लागि अर्थमन्त्रालयसंग पनि समन्वय आवश्यक रहेकाले अर्थसंगको समन्वयन पछि उच्च शिक्षाका विषय किटान गरिने उहाँले बताउनुभयो । उहाँले सस्तो लोकप्रियताका लागि मात्रै सफ्टलोनको योजना नल्याईएकाले कार्यान्वयन हुनेमा विश्वस्त तुल्याउनुभयो ।

सांसद गौतमको प्रश्नमा सम्बन्धित मन्त्री पोख्रेलले जवाफ दिएपछि सांसदहरु प्रेम सुवाल, विरोध खतिवडा, तेजुलाल चौधरी, राजेन्द्रकुमार केसी , अमरेश कुमार सिंह लगायतले पुरक प्रश्न राखेका थिए ।

पुरक प्रश्नको सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकार पहिलो चौमासिकमा नै उच्चशिक्षामा सफ्ट लोनको व्यवस्थालाई कार्यान्वयन गर्ने लक्षका साथ अघि बढिरहेको भन्दै कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो ।