तीज गीत मार्फत वातावरण संरक्षणमा जोड

चितवन, १६ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको संगम टोल आमा समूहले सचेतनामूलक तीज गति प्रतियोगिता गरेको छ ।
टोलमा रहेका बालबालिकाहरुको बीचमा आयोजना गरिएको वातावरणमैत्री तीज गीत प्रतियोगितामा विभिन्न पाँच समूहको सहभागिता रहेको थियो । सहभागीहरुले तीजको गीतको लयमा वातावरण संरक्षण सम्बन्धी सचेतनामूलक गीतहरु प्रस्तुत गरेका थिए । वातावरण संरक्षणका लागि अपनाउनुपर्ने उपायहरु, वृक्षरोपण, सरसफाईमा ध्यान दिनुको लागि प्रतियोगिताहरुले तीज गीत मार्फत आग्रह गरेका थिए ।
प्रतियोगितामा प्रतिष्ठा कंडेलको समूह पहिलो भएको छ । समूहमा विपिन अधिकारी, रिहाना गैरे, रिभर्सन गरे र विनिता थापा रहेका थिए । त्यस्तै, अनुपा कंडेलको समूह दोस्रो भएको थियो । उनको समूहमा सजम पन्त किर्तका उपाध्याय, प्रसिद्ध तिवारी र दिवस तिवारी रहेका थिए ।
त्यस्तै, तेस्रो हुने समूहमा सिम्रन गौतम, प्रतिविम्ब कंडेल, हिमांशु रेग्मी, किर्तीका खरेल र जस्मिन अधिकारी रहेका छन् । प्रतियोगिताका विजेताहरुलाई स्टेशनरी सामग्री प्रदान गरिएको संगम टोल आमा समूहकी अध्यक्ष राधा सापकोटाले जानकारी दिइन् । कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक डाक्टर कल्याणी मिश्रले मौलिकतामा आधारित भएर तीज मनाउँदा संस्कृति समेत जगेर्ना हुनुका साथै साना तथा घरेलु उद्योगहरु फस्टाउने बताइन् ।
संस्थाले वातावरण मैत्री नहुने भन्दै प्लाष्टिकका सामग्रीलाई निषेध गर्दै सालको पातबाट निर्माण गरिएको टपरीमा तीजको दर समेत खुवाएको छ । खानपानमा चेतना जागृत होस् प्लाष्टिकका सामग्री सकेसम्म प्रयोगमा नल्याउ भन्दै सन्देश दिन समेत खुला ठाउँमा मौलिक तरिकाले तीज गीत प्रतियोगिता आयोजना गरिएको मिश्रले बताइन् । यस अगाडि आमा समूहले तीजलाई लक्षित गर्दै सिपीका माला बनाउने तालिम, स्वास्थ्य शिविर, टपरी बुन्ने तालिम समेत दिएको थियो ।