आमा समूहद्वारा २५ लाख रुपैयाँमा राधाकृष्ण मन्दिर निर्माण

नवलपुर, १५ भदौ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर २ शीलान्यास चोक ओम साई मार्गका रहेका महिलाहरुले राधाकृष्णको मन्दिर निर्माण गरेका छन् । मनकामना आमा समूहले ६ लाख ५० हजार रुपैयाँमा करिबसाढे दुई आना जग्गा खरिद गरि राधाकृष्णको मन्दिर निर्माण गरेका हुन् ।
जग्गा सहित मन्दिर निर्माण खर्च २५ लाख रुपैयाँ पुगेको मनकामना आमा समूहकी सहसचिव विष्णु अर्यालले जानकारी दिइन् । साढे दुई तलाको भवन निर्माण गरि आमा समूहले भुईँ तल्लामा सभाहल, बीचमा राधाकृष्णको मन्दिर तथा माथील्लो तल्लामा स्टोर रुम बनाएका छन् । भवनको भुइँ तल्लामा दैनिक रुपमा सत्संग गर्ने तयारी गरिएको मनकामना आमा समूहकी अध्यक्ष गीता ढकालले बताइन् ।
एक सय १३ जना आवद्ध रहेको आमा समूहका सदस्यहरुले प्रति सदस्य पाँच हजार रुपैयाँ उठाएको तथा अन्य दाताहरुबाट समेत चन्दा संकलन गर्दै मन्दिर निर्माण गरेको ढकालले बताइन् । मन्दिर निर्माणको लागि गैंडाकोट नगरपालिकाले समेत दुई लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेको छ । परम्परा धान्न तथा आध्यात्मतर्फ आकर्षित हुनको लागि केही गरौँ भन्ने उद्देश्यले मन्दिर निर्माण गरिएको समूहकी अध्यक्ष ढकालले बताइन् ।
आमा समूहले निर्माण गरेको राधाकृष्ण मन्दिरमा कृष्णजन्माष्टमीको अवसर पारेर मूर्तीको प्राण प्रतिष्ठा गरिदैछ । तीन दिने कार्यक्रम अन्तर्गत शुक्रबार ¥याली निकालेर बजार परिक्रमा गरिएको छ भने, पूर्वांग, गृहवास्तु, ग्रह पूजा, योगिनी पूजा, मातृका पूजा, दिक्पाल पूजा तथा गरुड पूजा गरिएको मुल पण्डित जगन्नाथ अर्यालले जानकारी दिए ।
त्यस्तै, शनिबार अन्नाधिवास, फलाधीवास, औषधिवास, श्रीमद्भागवात पाठ पारायण तथा विभिन्न पूराणहरुको पाठ पारायण गरिनुका साथै आइतबार राधा कृष्णको मूर्तिको प्राण प्रतिष्ठा, शैयाधिवास, पूर्णाहुती गर्दै लाख बत्ती बाल्ने अर्यालले जानकारी दिए । त्यसका साथै मन्दिरमा प्राण प्रतिष्ठा पश्चात आइतबार साँझबाट सोमबार बिहानसम्म आमा समूहद्वारा अखण्ड हरिकीर्तन गर्ने कार्यक्रम रहेको छ ।

Promise Education Consultancy