नारायणगढस्थित क्षेत्रपुरमा आधुनिक तरकारी बजार निर्माण अन्तिम चरणमा

 चितवन , १४ भाद्र । चितवनको नारायणगढस्थित क्षेत्रपुरमा निर्माण हुँदै गरेको आधुनिक तरकारी बजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
तरकारी तथा फलफूल व्यवसायी संघ चितवनका अध्यक्ष थिरप्रसाद धितालका अनुसार करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । लायन्सचोकस्थित हालको तरकारी बजार साँघुरो भएपछि व्यवसायीहरुले भरतपुर महानगरसँग अन्यत्र व्यवस्थापन गरिदिन आग्रह गर्दै आएका थिए ।
अन्ततः व्यवसायीद्वारा आफ्नै लगानीमा व्यवस्थित आधुनिक तरकारी बजार निर्माण गरिएको हो । ‘अब १५ प्रतिशत जति मात्रै काम बाँकी छ’, अध्यक्ष धितालले भने, ‘मौसम राम्रो भयो भने भदौ महिनाभित्रमा सबै काम सम्पन्न गरी असोज पहिलो साता बजारको उद्घाटन गर्ने हाम्रो योजना छ ।’
उनका अनुसार संरचना निर्माण कार्य सम्पन्न भइसकेकाले पिचको काममात्रै बाँकी छ । घाम लागिरहे एक–दुई दिनभित्रै पिचको काम सुरू गरिने अध्यक्ष धितालले जानकारी दिए ।
सुरूमा करिब ७ करोड रूपैयाँ लागतमा बजार निर्माण गरिने लक्ष्य रहे पनि काम गर्दैै जाँदा लक्ष्यभन्दा बढी खर्च भएको उनको भनाइ छ । ‘निर्माण सम्पन्न हुने बेलासम्ममा करिब १४ करोड खर्च हुने देखिएको छ’, उनले भने । निर्माण अवधि एक वर्षसहित १६ वर्षका लागि तीन बिघा जग्गा लिएर बजार निर्माण गरिएको हो ।
व्यवसायीहरुको निजी लगानीमा बन्दै गएको बजारमा २१० वटा स्टल रहने छन् । बजार निर्माण कार्य सकिनै लागेकोले सडक तथा पुलको स्तरोन्नतिको काम भरतपुर महानगरपालिकाले गरिदिन व्यवसायी संघले आग्रह गरेको छ ।
‘बजार निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले महानगरले सडक फराकिलो बनाउने र बसेनीबाट तल झर्ने क्रममा नहर र पुंगीखोलाको गरी दुईवटा पुललाई पनि फराकिलो बनाएर बाटो सहज बनाइदिनुपर्ने छ’, अध्यक्ष धितालले भने ।
बजारभित्र केही ठाउँ खाली रहने हुँदा त्यसमा ग्रीनपार्क निर्माण गर्ने व्यवसायीको लक्ष्य रहेकोले त्यसलाई पनि महानगरले हेर्नुपर्ने उनको भनाइ छ । विशुद्ध व्यवसायीहरुको लगानीमा बन्न लागेको तरकारी बजार नेपालकै कालीमाटीपछिको ठूलो बजार हुने संघले दाबी गरेको छ । यहाँको तरकारी बजारबाट १७ जिल्लाका किसानले प्रत्यक्ष लाभ लिन सकिने संघका महा – सचिव मुकुन्द गौतमले जानकारी दिए ।

Promise Education Consultancy