शाश्वतधामद्वारा सञ्चालित विद्यालय बन्द गर्न निर्देशन

नवलपुर, १० भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा चौधरी उद्योग ग्रामको शाश्वतधामद्वारा सञ्चालीत वैदिक कर्मकाण्ड गुरुकुलको कक्षा बन्द गर्न जिल्ला शिक्षा समन्वय इकाईले पत्र पठाएको छ ।
गुरुकुलले अनुमति विना कक्षा ८ सञ्चालन गरेको भन्दै गुरुकुलमा अध्यापन हुँदै आएको कक्षा ८को पठनपाठन रोक्न इकाईले पत्र पठाएको हो । विद्यालयले ८ कक्षासम्म संस्कृत शिक्षा पढाउँदै आएको छ । गुरुक्ुलले कक्षा ७ सम्म मात्रै अध्यापन गराउने अनुमति लिएको हुँदा नियम अनुसार चल्न र चलाउनका लागि इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले गुरुकुललाई पत्र पठाएको जानकारी दिए ।
गत पुस ३० मा ८ कक्षा सञ्चालनका लागि स्वीकृति माग गर्दै सो विद्यालयले इकाईमा निवेदन दिएको आधारमा कक्षा सञ्चालन गर्दे आएको जनाएको छ । यता गुरुकुलका प्राचार्य विष्णु घिमिरेका अनुसार आफुहरुले कक्षा ८ सञ्चालनका लागि जिल्ला शिक्षा समन्वय इकाइ र देवचुली नगरपालिकामा पत्राचार गरिसकेको बताउँछन् । सम्बन्धित निकायमा निवेदन पेश गरेपछि त्यहाँबाट कक्षा सञ्चालन गर्दै गर्नु भन्ने मौखिक आधारमा कक्षा सञ्चालन गरेको गुरुकुलका प्राचार्य घिमिरेले बताए ।