बन्द उद्योग खुलाउन प्रशासन लचिलो

चितवन, १० भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनका क्रममा बन्द गरेको पानी उद्योगहरुलाई जारको पानी मात्रै उत्पादन दिने गरि सहमति गराएको छ ।
स्वचालित मेसिन जडान नभएको भन्दै केही दिन अगाडि बन्द गरिएका उद्योग सञ्चालकहरु, चितवनका प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख, उद्योग वाणिज्य संघ चितवन, उपभोक्ता अधिकार हित संरक्षण मञ्चसहित आइतबार बैठक बसेको थियो । बन्द गरिएका उद्योगहरु स्वचालित मेसिन जडान गर्ने प्रकृयामा भए त्यसको अर्डर स्लीप माग गर्दै अन्य कुराहरुमा मापदण्ड पुगेको भए त्यस्ता उद्योग खुलाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पत्राचार गर्ने समेत बैठकले निर्णय गरेको छ ।
जिल्लाका १० वटा पानी उद्योगहरु बन्द गरिएको भएपनि पानी भर्ने स्वचालित उपकरण जडान गर्ने प्रकृयामा रहेका तर अन्य मापदण्ड पुगेका उद्योगहरुलाई खुल्न दिनुपर्नेमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जोड दिएका थिए । व्यवसायीहरुले राजधानी बाहिर तीन सय पानी उद्योग रहेकोमा २४ वटा मात्रै उद्योगले स्वचालित उपकरणबाट पानी भरेर बेच्ने गरेकोले आफूहरुले समेत स्वचालित मेसिन जडान गर्नका लागि समय पाउनुपर्ने माग गर्दै आएका थिए । एकै पटक पानी उद्योग बन्द गरिदिदा व्यवसायीलाई मर्का पर्नुका साथै उद्योगमा कार्यरत मजदुरहरुको समेत विचल्ली हुने पानी उद्योगी भोजराज अर्यालको भनाइ थियो ।