विद्यालयलाई विशेष सहयोग सामग्री प्रदान

नवलपरासी, ०९ भदौ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको सामुदायिक विद्यालय ब्रम्हा प्राविलाई नेपलीज ब्रदर्श रुम (एनबिआर)ले विशेष सहयोग गरेको छ ।
सामाजिक सञ्जालमा सक्रिय युवाहरुको समूह नेपलीज ब्रदर्श रुमले बम्हस्थानको ब्रम्हा प्राविलाई ६ थान पंखाका साथै खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सामाजिक सञ्जाल मार्फत सामाजिक काम गर्ने उद्देश्यले स्थापना भएको संस्थाले आफ्नो तेस्रो वार्षीकोत्सवको अवसर पारेर विद्यालयलाई सहयोग गरेको एनबिआरका चितवन संयोजक मोहन भुषालले बताए । पाल्पाका ६ जना युवाहरुको प्रयासमा तीन वर्ष अगाडि खोलिएको एनबिआरमा हाल ५० हजार युवाहरु रहेको उल्लेख गर्दै भुषालले आफूहरुको समूहल उत्पीडित समुदाय, दुर्गमका विद्यालयमा सहयोग गर्नुका साथै रक्तदाताहरुलाई उत्प्रेरणा गर्दै आएको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा भैरहवा विमानस्थलका सिभिल ईन्जिनियर पुरुषोत्तम गैरेले युवाहरुले आफ्नो चाहना कटौती गरेर सहयोग गर्दै आएकोले त्यसको सदुपयोग हुनुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले आर्थिक अभावका कारण विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समेत निकै चुनाति रहेकोले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगुराम बोटेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडा अध्यक्ष लोकनाथ अर्यालले विद्यालयलाई मागेर सञ्चालन गर्नुपर्ने अवस्था आउँदा समेत राज्यले सहयोग नगरेको बताए ।