निर्मला पन्त बलात्कार–हत्या प्रकरण : यस्ता छन् सर्वदलीय बैठकले गरेका निर्णय

 

महेन्द्रनगर, ९   भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि चर्किएको आन्दोलनले उरू रूप लिएपछि सर्वदलीय बैठक बसेर घटनाबारे निर्णय गरेको छ । बैठकले पीडित पक्षलाई न्याय दिालउन तथा आन्दोलन स्थगित गर्ने गरी केही निर्णयमेत गरेको छ ।

सर्वपक्षीय बैठकमा यहाँका राजनीतिक दल, नागरिक समाज, महिलाअधिकारकर्मी, आन्दोलनरत पक्षलागतको सभागिता थियो ।

सर्वपक्षीय बैठकले निर्मला पन्तको मृत्युप्रति दुःख व्यक्त गर्दै शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गर्न आग्रह गरेको छ । साथै, मृतकका परिवारलाई उचित राहत दिलाउन तीनवटै तहका सरकारलाई आग्रह गरेको छ ।

बैठकले आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न सरकारलाई माग गर्ने निर्णय पनि गरेको छ । आन्दोलनक्रममा घाइते भएका उपचारपछि पनि शारीरिक रूपमा अशक्त भए उनीहरूको जीवन निर्वाहमा अप्ठेरो सरकारले व्यवस्था गर्नुपर्ने माग पनि बैठकले गरेको छ ।

त्यसैगरी, आन्दोलनक्रममा तोडफोड, सरकारी, सार्वजनिक व्यक्तिगत क्षति भिडको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिन गर्न समिति गठन गर्न गृह मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, अप्रिय घटना फेरि दोहोरिन नदिन घटनाको निष्पक्ष छानबिन तथा शान्ति सु–व्यवस्था बनाइराख्न राजनीतिक दल, नागरिक समाज, उद्योगीलगायत सबै पक्षबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाउने निर्णय पनि बैठकल गरेको छ ।

बैठकले गरेका निर्णयको अन्तिम बुँदामा थप विरोधका कार्यक्रम आजैदेखि बन्द गर्न अपिल गर्ने पनि भनेको छ ।

भीमदत्त नगरपालिका–२ की स्थानीय निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।