हेटौंडा काठमाडौँ सुरुङमार्ग खारेजी हुने

चितवन, ०८ भदौ । निजी क्षेत्रलाई जिम्मा दिइएको हेटौंडा काठमाडौँ सुरुङ मार्गको काम खारेजी हुने भएको छ । प्रदेश ३ सरकारले हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको लागि निजी कम्पनीसँग गरिएको सम्झौता खारेज गर्न संघ सरकारलाई पत्राचार गरेको छ ।
निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश सरकार आफैंले बनाउन चाहेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)सँगको सम्झौता खारेज गर्न पत्राचार गरिएको बताए । अब भीमफेदीदेखि कुलेखानीसम्म ‘पोष्टबहादुर बोगटी सुरुङमार्ग’ लाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउन खोजिएको छ ।
यो कम्पनी नेपाल उद्योगा वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकमार जोशीको अध्यक्षतामा खोलिएको थियो । तर, सुरुङमार्ग बनाउन नसकिने भएपछि यसमा संस्थापक सेयर सदस्यहरुले जिम्मेवारी छाड्दै गएका छन् । अब निजी क्षेत्रलाई हटाएर प्रदेश सरकारले आफ्नै बजेटमा भीमफेदी–कुलेखानी सुरुङमार्ग आफैंले बनाउने योजना ल्याइएको छ ।
अब एनपीबीसीएलको प्रस्ताव जस्तो हेटौंडा–भीमफेदी र कुलेखानी काठमाडौं खण्डमा सुरुङ बनाइने छैन । भीमफेदीबाट चिसापानीगढी हुँदै कुलेखानी पुग्ने सडकको विकल्पमा मात्रै सुरुङ बनाउने प्रस्ताव छ, प्रदेश सरकारको । यो साँघुरो सडक खण्ड करिब १८ किलोमिटर लामो छ । सुरुङमार्ग बन्दा यो खण्ड करिब ६ गुणा छोटिनेछ ।
भीमफेदीबाट कुलेखानी पुग्न साढे तीन किलोमिटरको सुरुङ बनाउनुपर्छ । त्यसका लागि करिब ११ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान सडक विभागको छ । जग्गा अधिग्रहणको ठूलो समस्या नभएकाले यो सुरुङमार्ग बनाउन प्रतिकिमि साढे तीन अर्ब रुपैयाँका दरले खर्च हुने सडक अनुमान छ ।

Promise Education Consultancy