केन्द्रीय बस टर्मिनललाई व्यवस्थित पारिने

चितवन, ०८ भदौ । चितवनको भरतपुर बजारलाई व्यवस्थित गर्नका लागि सम्पूर्ण सवारी साधनहरुलाई केन्द्रीय बस टर्मिनलमा प्रवेश अनिवार्य गराउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
छोटा दूरीका सवारी साधनहरु टर्मिनलाई आधार बनाएर छुट्नुपर्ने तथा लामा दूरीका सवारी साधनलाई टर्मिनल बाहेकका अन्य क्षेत्रमा रोक्न दिन नहुने बताइएको हो । स्थानीय रुटमा सञ्चालन हुने सवारी साधन मनपरी रुपमा छुट्ने तथा लामा दूरीका सवारी साधनले बजार क्षेत्रमा मान्छे चढाउने गर्दा भरतपुर बजार अव्यवस्थित बन्दै गएको थियो । भरतपुरको केन्द्रीय बस टर्मिनल सञ्चालनमा आउँदाको समयमा जस्तै सबै सवारी साधनले त्यहीँबाट यात्रु ओसार्नुपर्नेमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जोड दिए ।
सार्वजनिक सवारी साधनले जथाभावी पार्किङ तथा बजारका सबै ठाउँमा यात्रु चढाउने र झार्ने क्रम बढ्दै गएपछि बस टर्मिनलमा भन्दा बढी सवारी साधन बजारमा थुप्रिन थालेका थिए । लामा दूरीका सवारी साधनलाई बस टर्मिनल बाहेक अन्यत्र रोक्न दिन नहुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका नेता तेजेन्द्रबहादुर खड्काले बताए ।
भरतपुर महानगरपालिकामा आवश्यकता भन्दा बढी सवारी साधन भित्रिएको कारण पनि बसपार्कमा भन्दा बजार क्षेत्रमा सवारी साधन रोक्ने प्रवृत्ति बढेको हो । बस टर्मिनललाई व्यवस्थित गर्दै मनपरी रुपमा जिल्लामा साना सवारी साधन भित्रिन नदिन महानगरपालिकाले आफैले सवारी साधन दर्ता गराउने तयारी गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताए ।
बजार व्यवस्थापनको लागि भन्दै तीन पाङ्ग्रे सवारी साधनलाई मुख्य राजमार्गमा गुड्न प्रतिबन्ध गरिएपनि चार पांग्रे म्याजिक भ्यानहरु थपिने क्रम बढेको छ । बाहिरबाट आएका सवारी साधनहरु बसपार्क बाहेक अन्यत्र रोक्न नपाउने र स्थानीय सवारी साधनहरु समेत जहाँपायो त्यहीँ रोकेमा कारबाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।